परराष्ट्रमन्त्री राणाले भनिन्ः ‘महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छ’

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणाले महिलाहरुलाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताएकी छिन् ।

क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले महिला समानता तथा समावेशी सहभागिताबारे कैयौँ कानुनी प्रावधान र यससम्बन्धी मान्यताहरु विकास भए पनि महिलालाई नेतृत्वमा पुग्न अझै धेरै चुनौती रहेको बताएकी हुन् ।

लैङ्गिक समानता एवं महिला अधिकारका विषयमा नेपाल र नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुले झन् धेरै समस्या झेल्नुपरिरहेको मन्त्री डा। राणाको तर्क थियो ।

‘संसारमा महिला वर्गको राजनैतिक, सामाजिक, आर्थिक र कानुनी अवस्थाको विश्लेषण गर्दा हाल संसारमा ११ प्रतिशतभन्दा कम राष्ट्रप्रमुख र १० प्रतिशतभन्दा कम सरकारप्रमुखहरू महिला छन् । महिलाहरू रोजगारीको ६० प्रतिशत अनौपचारिक अर्थतन्त्रमा केन्द्रित छन् र औसतमा पुरुषभन्दा तीन गुणा बढी समय अवैतनिक सेवा र घरेलु काममा महिला रहेका छन्’, परराष्ट्रमन्त्री राणाले भनिन् ।

कानुनी अधिकारको उपभोग एवं न्यायमा पहुँचका आधारमा पनि महिला संसारमै पछि परिरहेको उनको भनाइ थियो । उनले महिलाहरूले विश्वव्यापी रूपमा पुरुषले पाएका कानूनी अधिकारहरूको ६४ प्रतिशत मात्र अधिकार उपभोग गर्न सकेको अवस्था रहेको बताइन् ।

नेपालमा आफूहरुले निरन्तर रुपमा लैङ्गिक समानताका लागि लडिरहेका कारण नेपालका लक्षित नीति र कार्यले केही सुधार भने ल्याइरहेको उनको तर्क थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*