तीन दिनभित्र बाढीपहिरो प्रभावितलाई राहत वितरण गर्ने गृहमन्त्रीको भनाइ
काठमाडौं । गृहमन्त्री रमेश लेखकले तत्काल बाढी पहिरोबाट प्रभावित लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिनुभएको छ ।
ललितपुरको गोदावरीमा आज बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई लाभग्राहीहरुको विवरण पठाउन निर्देशन दिनुभएको हो । उहाँले क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको जानकारी दिनुभयो ।
गृहमन्त्री लेखकले भन्नुभयो, ‘बाढीपहिरो प्रकोपले देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ, क्षतिको यकिन विवरण सङ्कलनको काम पनि भइरहेकाले यसमा सबै संवेदनशील भएर काम गर्नु आवश्यक छ ।’
गृहमन्त्री लेखकले पीडित घाइतेको निःशुल्क उपचार भइरहेको बताउँदै उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताउनुभयो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले हालसम्म ३९ जना मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले घरमै पुगेर रकम प्रदान गरिएको जानकारी गृहमन्त्री लेखकलाई गराउनुभएको थियो । उहाँले बाँकी मृतकका परिवारलाई पनि रकम उपलब्ध गराउने विषयमा समन्वय भइरहेकाले तत्काल उपलब्ध गराइने जानकारी गराउनुभयो ।