माओवादीको खबरदारी जुलुस
काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले शनिबार (आज) काठमाडौंमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्रको बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा खबरदारी जुलुस सुरु भएको हो ।
सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्ग पुगेर खबरदारी सभामा परिणत हुनेछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
माओवादीले १० बुँदे एजेण्डासहित शनिबार प्रदर्शन र खबरदारी सभा गर्न लागेको हो । विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण पुनर्स्थापना कार्यान्वयन गराउन खबरदारी सभा आयोजना गरिएको माओवादीले जनाएको छ ।