मंगोलियासँग पनि नेपाल पराजित
काठमाडौं । समूहको अन्तिम खेलमा मंगोलियासँग पराजित भएपछि नेपाल एएफसी यु–१७ एसियन कप छनोटमा जितविहीन बनेको छ ।
यसअघि नै छनोटको समूह चरणबाटै बाहिरिसकेको नेपाल समूह एफको अन्तिम खेलमा मंगोलियासँग १–० ले पराजित भयो । चार टोली सम्मिलित समूहमा तीन खेल हार्दै नेपाल अंकविहीन रह्यो ।
दोहास्थित हमाद बिन खालिफा रंगशालामा भएको खेलमा मंगोलियाको ओक्हु सोहेलले ७८औं मिनेटमा निर्णायक गोल गरे ।
सुरुवाती दुवै खेल हारेका नेपाल र मंगोलियाको लागि यो खेल प्रतिष्ठाका लागि थियो । नेपाल यो खेल जित्दै सुखद अन्त्य गर्न चाहन्थ्यो । तर मंगोलियाले बाजी मार्यो । मंगोलियाले ३ अंक जोडेर छनोट यात्रा सकायो ।
समूह एफमा नेपाल यसअघि साविक विजेता जापानसँग ९–२ तथा घरेलु टोली कतारसँग ५–० ले पराजित भएको थियो ।
मंगोलिया पहिलो खेलमा कतारसँग २–० ले तथा जापानसँग ७–० ले पराजित भएको थियो ।
नेपालले छनोटमा तीन खेल खेल्दा सबै तीन खेलमा पराजित भयो । जसमा १५ गोल खाँदा २ गोल गर्न सफल भयो ।