नेपालले स्कटल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ ।
नेपाल र स्कटल्याण्डबीचको खेल डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।
स्कटल्याण्डविरुद्ध यसअघिको पहिलो खेल ५ विकेटले जितेको नेपाल त्यो प्रदर्शनलाई कायम राख्न चाहन्छ । तर घरेलु टोद्यी अमेरिकाविरुद्धको दुवै खेल हारेको नेपाल दबाबमा छ ।
स्कटल्याण्डलाई नेपालले १५४ रजमा अलआउट गर्दै २९.५ ओभरमा १५७ रन बनाउँदै जित निकालेको थियो । अमेरिकाविरुद्ध पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो ।
स्कटल्याण्डले भने अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो । लिग टु को यस सिजनमा स्कटल्याण्ड र अमेरिकाले २–२ खेल जितेर समान ४ अंक जोडेका छन् । नेपालले भने ३ खेलबाट २ अंक मात्र जोडेको छ । अब सिरिजको अन्तिम खेल जित्दै सुखद रुपमा अमेरिका टुर सकाउने नेपालको लक्ष्य छ ।
स्कटल्याण्डविरुद्ध हेड टु हेडमा नेपाल अघि छ । अहिलेससम्म यी दुई टोलीले कूल ७ ओडीआई खेल खेल्दा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ ।
लिग टु मा अहिलेसम्म अमेरिका र क्यानडाले १२ खेल खेल्दै समान १६ अंक जोडेका छन् । तर नेटरनरेटमा अमेरिका अघि रहँदै शीर्ष स्थानमा छ ।