मिथिलाञ्चल क्षेत्रमा सामा चकेवा पर्वको रौनक

काठमाडौं । मिथिलाञ्चल क्षेत्रले संस्कृतिको संरक्षणका लागि पहिलेदेखि नै चाडपर्वहरुको आड लिएको पाइन्छ । जीवनको आदर्श र कलात्मक पक्षहरुलाई चाडपर्वसँग गाँसेर राख्ने मैथिली समाजमा कुनै न कुनै पर्वको रमझम हुन्छ । यसै क्रममा स–साना माटाका आर्कषक मूर्तिहरू बनाइ मनाइने सामा चकेवा पर्वले कार्तिक महिनाको सन्ध्याकालीन शीतल वातावरणलाई मनमोहक एवं संगीतमय बनाइरहेको छ ।

मिथिलाञ्चलका चेलीबेटी अहिले लोक पर्व सामा चकेवा पर्वको अवसर पारेर माटोबाट निर्मित कलात्मक मूर्तिसहित लोकगीतको भाकामा झुम्मिदा सन्ध्याकालीन शरद ऋतुको शीतल वातावरणलाई मनमोहक बनाइरहेको छ । कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनाबाट शुरु भई १० दिनसम्म यो पर्व मिथिलाञ्चलका चेलीबेटीले मनाउने गर्दछन् । कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न सुरिला गीतहरु गाएर सखी सहेलीहरुसँगै सामा चकेवा पर्व मनाइन्छ ।

यो पर्वको वास्तविक नाम श्यामाचकेवा रहेपनि लोकभाषामा यसलाई सामाचकेवा भन्ने गरिन्छ । सामा चकेवामा श्रीमान—श्रीमतीको सम्बन्धमा चुगली लगाउने चारुवक्र पात्र अर्थात चुगलाको जुँगालाई डढाउने गरिन्छ । बहिनी मिलेर आगो लगाई डढाउँदै घृणाले गीत गाउँछन् । यसका साथै आफ्नो भाइको पुरुषार्थको गीतकै माध्यमबाट प्रशंसा समेत गर्ने गर्दछन् । कार्तिक पूर्णिमाका दिन बहिनी आफ्नो भाइलाई निमन्त्रण दिन्छिन् । भाइले घुँडामा राखेर सबै मूर्ती तोड्छन् र ती मूर्तीहरुलाई जोतेको खेतमा विसर्जन गरिन्छ । बहिनीले भाइलाई चिउरा, दही, मिष्ठान्न, सख्खरको भोजन गराउँछन् । यसलाई मैथिलीमा ‘फाँरभरी’ भन्ने गरिन्छ । सामा चकेवा पर्वलाई भाई बहिनी बीचको अगाध प्रेमको प्रतिकको रुपमा लिइन्छ । पछिल्लो समय समाजमा बढ्दै गइरहेको कटुताका बीच यो पर्वले प्रेमको सन्देश दिने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*