आज हरिबोधिनी एकादशी,त्रिखण्डी मन्दिरमा दर्शनार्थीको भीड
हेटौंडा । आज हरिबोधिनी एकादशी मनाइँदैछ । यस अवसरमा आज मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको त्रीखण्डी मन्दिरमा दर्शनार्थीहरुको घुइँचो लागेको छ । आज बिहानै देखि त्रिखण्डी मन्दिरमा निकै भीड लागेको छ । मकवानपुरका गाउँगाउँबाट त्रिखण्डी मन्दिरमा पुजाआजा गर्न आउनेहरु धेरै रहेका छन् ।
बिशेषगरी हेटौंडाबाट त्रिखण्डी मन्दिरमा जानेहरु धेरै रहेका छन् । यहाँको सुरक्षा व्यावस्था पनि कडा पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी मकवानपुरगढीको बंशगोपाल मन्दिरमा पनि दर्शनार्थीहरुको चहलपहल निकै बढेको छ ।
असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने शास्त्रीय विधि छ ।
आज कात्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतिकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइन्छ । हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझनुहुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भन्ने गरिएको शास्त्रीय मान्यता छ ।
हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।