रवि लामिछानेलाई भैरहवा लगियो

बुटवल । सहकारी ठगी आरोपमा कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि आज भैरहवा लगिएको छ ।

पोखराको सुर्यदर्शन सहकारीको वचत अपचलन आरोपमा कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको वचत अपचलन आरोपमा अनुसन्धान गर्न भैरहवा लगिएको हो ।

बिहान पौने ८ बजे को फ्लाइटमा पोखराबाट भैरहवा ल्याउने तयारीस्वरूप रविलाई बिहान ५ बजे नै पोखरा एयरपोर्ट लगिएको थियो । तर, मौसमको खराबीका कारण पोखराबाट जहाज उड्न नसक्दा लामिछानेलाई केही घण्टा ढिलो भैरहवा लगिएको हो ।

मौसममा सुधार भएपछि बुद्ध एअरबाट भर्खरै भैरहवा लगिएका लामिछानेलाई लगत्तै जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा पुर्‍याएर बयान लिइने रुपन्देही प्रहरी प्रवक्ता लक्ष्मी खनालले बताइन् ।

लामिछानेलाई बयानका लागि रुपन्देही ल्याउने भएपछि बिहानैदेखि रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ । यस्तै सरकारी वकिलको कार्यालय र अदालत प्रवेश केही क्षेत्रमा व्यारिगेड लगाएर बन्द गरेको छ । कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका १२ जना आरोपीलाई पक्राउ पूर्जी जारी गरेको थियो ।

कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका रविलाई ३ गते पोखरा पुर्‍याइएको थियो । ४ गते अदालतमा पेश गरेपछि उनी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*