प्रधानमन्त्रीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन् । आज ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उनले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुङ्गाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको बताए।
‘नेपालको संसदीय अभ्यासमा बेग्लै प्रभाव छाड्न सफल भएकाले उनले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने आवश्यकता छ’, उनले भने।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । उनीप्रति श्रद्धाञ्जली व्यक्ति गर्न उपप्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अन्य सदस्य पनि गौचरन पुगेका छन् ।
यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उनले ढुङ्गानाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् ।