उपनिर्वाचनअन्तर्गत उम्मेदवारको नामावली प्रकाशन आज हुने
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत उम्मेदवारको नामावली आज प्रकाशन हुनेछ । साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ ।
भोलि बुधबार बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय सिमा तोकिएको छ । भोलि नै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उम्मेदवारी परेको छ ।
कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक पुरुषको उमेदवारी दर्ता भएको छ । गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि ३ सय २३ जनाको उम्मेदवारी परेको छ । कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ ।