बकैयामा झोलुङ्गे पुल निर्माण सुरु
हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका १२ मा दातृ संस्थाको सहयोगमा झोलुङ्गे पुल निर्माण सुरु गरिएको छ । वडा १२ स्थित धेत्रेदमार र गोदामडाँडा जोड्ने झोलुङ्गे पुलको बिहीबार गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, वडा ११ का वडाध्यक्ष गोपाल लामा र वडा नं। १२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाईँले संयुक्त रुपमा शिलान्यास गरेका हुन ।
झोलुङ्गे पुलको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष लामिछानेले गाउँपालिकाले विकासमा सबै नागरिकको पहुँच पुगाउन पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
इस्थर बेन्जामिन स्मृति सस्ंथाको ४० लाख रुपियाँ आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा निर्माण हुने उक्त झोलुङ्गे पुल ९० मिटर लम्बाइको हुने छ ।
दुई महिना भित्रमा निर्माण पूरा गर्नेगरी सुरु गरिएको उक्त झोलुङ्गे पुल निर्माणपछि धेत्रेदमार, गोदामडाँडा र आसपासका क्षेत्रका बासिन्दा लाभिान्वित हुने वडाध्यक्ष बजगाईँले जानकारी दिए । उनका अनुसार झोलुङ्गे पुल नहुँदा वर्षा याममा स्थानीयले जोखिमपूर्ण रुपमा आवतजावत गर्नुपर्ने बाध्यता रहेको थियो ।