थानकोट–चन्द्रागिरि–चित्लाङ सडकखण्ड एक महिनाका लागि बन्द
हेटौँडा । काठमाडौं–हेटौंडा जोड्ने थानकोट–चन्द्रागिरि–चित्लाङ सडकखण्ड आइतबारबाट एक महिनाका लागि बन्द हुने भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्म सडकको मर्मत सम्भार गर्ने भएकाले एक महिनासम्म सवारी आवागमन बन्द गर्न लागिएको हो ।
सडक डिभिजन कार्यालय काठमाडौंले बिहीबार सूचना जारी गर्दै सडक स्तरोन्नतिका लागि पुस ७ गते अर्थात् आइतबारदेखि माघ ६ गतेसम्म पूर्णरुपमा बन्द गरिने जानकारी गराएको छ । उक्त अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ ।
‘यस कार्यालयअन्तर्गत थानकोट–चित्लाङ सडक स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्मको सडकखण्ड पुस ७ गतेदेखि माघ ६ गते सम्म पूर्ण रुपमा बन्द हुने भएकोले सो अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न हुन जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ ।
सडक विभागले उक्त सडक बन्द गर्ने सुचना जारी गरेपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले सडक सुधारको नाममा विश्वविद्यालयको पठनपाठनमै असर पर्ने जनाएको छ ।