गगन थापा हेटौंडा आउने
हेटौँडा । नेपाली कांग्रेसका युवा नेता तथा महामन्त्री गगन थापा हेटौंडा आउने भएका छन । कांग्रेसले हरेक वर्ष पौष १६ गतेका दिन मनाउँदै आएको मेलमिलाप दिवसको सन्दर्भमा बागमती प्रदेशको राजधानी हेटौंडामा हुने भेलालाई सम्बोधन गर्न थापा हेटौंडा आउने भएका हुन् । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले सोमबार हेटौंडा–२ स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै मेलमिलाप नीतिका वर्तमान अवस्थाको महत्वबारे प्रष्ट्याउन थापाले कार्यक्रम तय भएको हो ।
‘वीपीले तत्कालिन समयमा भारतबाट नेपाल फर्किदा लिनु भएको मेलामिलाप नीति अहिले पनि सान्दर्भिक छ । यस विषयलाई उहाँले भेलामा प्रष्ट्याउनु हुनेछ ।’, सभापति लामाले भेलाको तयारी समेत सुरु भइसकेको बताए । उनका अनुसार भेलामा जिल्लाको १०२ वटा वडाबाट कांग्रेसका कार्यकर्ता एवम् शुभेच्छुकको उपस्थिति रहनेछ ।
‘भेलामा करिब दुई हजार जना सहभागी हुने अनुमान हामीले गरेका छौं ।’, सभापति लामाका अनुसार भेलामा करिब ३० जना कांग्रेसका नेताहरुलाई सम्मानित समेत गरिनेछ । भेलालाई नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए ।