१६ नं. वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमबीच उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले १६ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले निकट भविष्यमा उपमहानगरलाई नै बालमैत्री शासनयुक्त स्थानीय तह घोषणाको तीब्र तयारी भइरहेको बताइन् । उनले पछाडी परिएका बालबालिकाहरुलाई सक्षम बनाउन उपमहानगर लागि परेको बताइन् ।
विभिन्न सूचक पूरा गरेसँगै उक्त वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको वडाध्यक्ष रामकृष्ण कोइरालाले जानकारी दिए । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गरिएको उनको भनाई छ ।
कार्यक्रममा उपप्रमुख राजेश बानिँया, विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।
१९ वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।