चखेल–मातातिर्थ सडकखण्ड आगामी सोमबारदेखि १५ दिन बन्द हुने
हेटौँडा — मकवानपुर र काठमाडौं जोड्ने चखेल–मातातीर्थ सडक स्तरोन्नतिका लागि आगामी सोमबारदेखि १५ दिन बन्द हुने भएको छ ।
मकवानपुरको महालक्ष्मी खोला–मातातीर्थ सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका – ५ स्थित महालक्ष्मी खोला नजिकै भीर कटानका लागि उक्त सडक बन्द गरिने भएको हो ।
बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मकवानपुरबाट मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा सडक बन्द गर्न लागिएको इन्द्रसरोवर गाउँपालिका– ५ का वडाध्यक्ष दुतराज तितुङले बताए ।
उनका अनुसार महालक्ष्मी खोलादेखि चखेल देउराली हुँदै जाने सडक पुस २२ गते अर्थात् सोमबारदेखि आगामी माग ७ गतेसम्म बन्द हुनेछ । उक्त सडक खण्डमा हाल स्तरोन्नतिको काम भइरहेको छ ।