मकवानपुरगढीको डुम्रेकुनामा माघ २ गते देखि महायज्ञ

हेटौंडा । मकवानपुरगढी गाउँपालिका ६ नम्बर वडाको केन्द्र डुम्रेकुनामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव हुने भएको छ ।

डुम्रेकुना बजारको मध्यभागमा अवस्थित जालपारजलेश्वर मन्दिर परिसरमा २ माघदेखि १० गतेसम्म महायज्ञ हुने भएको हो । मन्दिरको भौतिक संरचना निर्माणार्थ पण्डित रामचन्द्र तिमल्सिना र १०८ महायज्ञका अभियानकर्ता हरिचन्द्र
तिमल्सिनाबाट हरेक दिन कथा वाचन, भजन र झाँकीसहितको धार्मिक कार्यक्रम हुने गरी महायज्ञ हुन लागेको प्रचारप्रसार समिति संयोजक टिकाप्रसाद दाहालले जानकारी दिए ।

मातातीर्थरधनेश्वर महादेव मन्दिर तथा जालपारजलेश्वर मन्दिर व्यवस्थापन समिति तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजक मूल समारोह समितिको आयोजना, ६ नम्बर वडा कार्यालयको सहकार्यमा महायज्ञ हुन हुँदैछ । महायज्ञस्थल डुम्रेकुना गाउँपालिकाकै केन्द्र भागमा पर्दछ ।

जिल्ला सदरमुकाम हेटौंडाबाट कान्तिलोकपथ हुँदै शिखरकटेरीको मुखबाट दक्षिणतर्फ अथवा सामरी पुलबाट सहिद बासुदेव मार्ग भएर करिब ९–१० किलोमिटरको दुरीमा डुम्रेकुना पुग्न सकिन्छ ।

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजक मूल समारोह समिति अध्यक्ष रामकृष्ण न्यौपानेको अध्यक्षतामा बुधवार बसेको बैठकले महायज्ञको सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको जनाएको छ ।

माघ २ गते बिहान ८ बजे भागरथी टोलस्थित शास्वत धामबाट कलशयात्रा सुरु हुने प्रचारप्रसार समिति संयोजक दाहालले जानकारी दिए । महायज्ञमा प्रत्येक दिन ७ बजेदेखि साँझ ८ बजेसम्म पाठपारायण, १० बजेदेखि अपरान्ह ४ बजेसम्म कथा वाचन, भजन र झाँकी हुनेछ ।

हरेक दिन साँझ ७ बजेदेखि १० बजेसम्म महात्म्य कथा वाचन, भजन र झाँकी प्रदर्शनी हुने दहालले बताए । माघ ९ गते लाख बत्ति बाल्ने कार्यक्रम रहेको छ । महायज्ञमा सामूहिक ब्रतबन्ध, चौरासी पुजा, तुलादान, जिन्सीदान लगायतको कार्यक्रमको पनि व्यवस्था रहेको दहालले बताए ।

महायज्ञमा राष्ट्रियस्तरका कलाकारहरुको पनि प्रस्तुति रहने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*