हेटौँडा–१३ बालमैत्री वडा घोषणा
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं–१३ लाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। बुधबार “बालबालिकामा लगानीसहित सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ विशेष कार्यक्रमका बीच वडालाई बालमैत्री घोषणा गरिएको हो।
कार्यक्रममा वडाध्यक्ष पेम्बा लामाको अध्यक्षता र हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्य रहेको थियो।
५१ वटा सूचकमध्ये ४५ वटा सूचकमा शतप्रतिशत उपलब्धि हासिल गरिएको छ। अन्य दुई सूचकमा ९८ प्रतिशत, एकमा ९६ प्रतिशत, र अर्को एकमा ९५ प्रतिशतको सफलता प्राप्त भएको वडाध्यक्षले जानकारी दिए। यद्यपि, २ सूचकमा ८१ प्रतिशत मात्र उपलब्धि हासिल भए पनि न्यूनतम ८० प्रतिशत आधार कटेकाले बालमैत्री घोषणा गरिएको हो।
सरोकारवालाको उपस्थितिमा प्रतिवद्धतापत्रमा हस्ताक्षर गरी अभियानलाई आत्मसात गर्दै कार्यान्वयनमा लागेको १३ नम्बर वडामा हाल ८ हजार ८ सय ४२ जनसंख्या रहेको छ। तीमध्ये २ हजार ५७४ जना बालबालिका रहेका छन्।
बालमैत्री घोषणा समारोहका लागि वडा कार्यालय परिसरबाट बाजागाजासहित झाँकी निकालिएको थियो। स्थानीय सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरू, टोलविकास संस्थाका सदस्यहरू, र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागितामा पदमपोखरी बजार परिक्रमा गर्दै बालमैत्री घोषणा सभा सम्पन्न गरिएको थियो।