‘हाम्रो घर’लाई भेटवालको सहयोग
हेटौडा,२४ बैशाख । हेटौंडामा रहेको एक परिवारले अक्षय तृतीयाको सन्दर्भ पारेर अनाथ बालबालिकाहरुको संरक्षण एवम् पालनपोषण गर्दै आईरहेको ‘हाम्रो घर’ बाल गृहलाई एक दिनको लागि आवश्यक पर्ने खाद्यान्न बराबरको रकम सहयोग गरेको छ । हेटौंडा–१९ बस्तीपुर घर भएका हरिवंश भेटुवाल र उनको श्रीमती एवम् छोराछोरीले हेटौंडा–५ मा रहेको हाम्रो घर बालगृहलाई एक दिनको खाद्यान्न बराबरको ८ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
नेपाल हृदयरोग प्रतिष्ठान मकवानपुरका अध्यक्ष समेत रहेका भेटवालले आफ्नो श्रीमतीको इच्छा अनुसार सहयोग गर्न बालगृहसम्म आइपुगेको बताए । अक्षय तृतीयाको दिन जौको सातु र सर्वत समेत बालगृहमा आश्रित बालवालिकालाई वितरण गरिएको थियो । नेपाली परम्परा अनुसार अक्षय त्रितीयाको दिन जौ को सातु र सर्वत खाने र अरुलाई पनि खुवाउने गरिन्छ ।
त्यसैगरी कार्यक्रमकै बीच हरिवंश भेटवालका जेष्ठ सुपुत्र गणेशप्रसाद भेटवालले आफ्नो विवाह भएको २२ औं बर्ष पूरा भएको सन्दर्भमा आश्रमलाई नगद ५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका गणेशप्रसाद भेटवालले विगत ५ वर्षदेखी विभिन्न संघ संस्थाहरुलाइृ आफ्नो बैवाहिक वर्षगाठको अवसरमा सहयोग गर्दै आइरहेका छन् । ‘पहिले नजानेर विभिन्न होटलहरुमा उत्सव मनाउँदै आएको थिएँ’, भेटवालले भने, ‘६ वर्षदेखी जन्मदिन र वैवाहिक वर्षगाठ यस्तै आश्रमहरुमा सहयोग हस्तान्तरण गर्दै मनाइरहेको छु । यसले मनलाई पनि शान्ति मिल्ने रहेछ ।’ सहयोग हस्तान्तरण कार्यक्रममा बालगृहका अध्यक्ष ईन्दिरा न्यौपाने, सल्लाहकार सीताराम बर्तौला एवम् भेटवाल परिवारको उपस्थिति रहेको थियो ।