जनप्रियका विद्यार्थीहरुले गरे आईपिएम पाठशालाको अवलोकन
मकवानपुर, २७ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ हटियामा अवस्थित जनप्रिय उच्च माध्यमिक विद्यालय प्राविधिक शिक्षालयका विद्यार्थीहरुले हेटौँडा १६ पुर्वेली टोलमा सञ्चालित पुर्वेली टोल आईपिएम कृषक पाठशालाको अवलोकन गरेका छन् । शुक्रबार बिहान विद्यालयमा अध्ययनरत प्राविधिक विद्यार्थी तथा शिक्षकहरुको टोलीले कृषक पाठशालामा अवलोकन गरेको पाठशालाका कृषक सहजकर्ता घमराज तिमल्सिनाले जानकारी दिए ।
हेटौँडा उपमहानगरपालिका कृषि फाँटको आर्थिक सहयोगमा सञ्चालित कृषक पाठशालामा अवलोकनका लागि पुगेका प्राविधिक विद्यार्थीहरुलाई कृषक सहजकर्ता तिल्सिनाले आईपिएम कृषक पाठशाला सम्बन्धी जानकारी गराएका थिए ।
अवलोकनमा विद्यार्थी र शिक्षक गरी करिब ३० जनाको सहभागिता रहेको थियो अवलोकनका क्रममा कृषक प्लट र आईपिएम प्लटका बारेमा तुलनात्मक जानकारी गराइएको थियो । साथै उक्त अध्ययन क्षेत्रमा जातिय परिक्षण प्लट, मलखाद परिक्षण प्लट र झुलघर परिक्षण प्लट समेत अवलोकन भएको थियो । उक्त विषयमा सहजकर्ता तिमल्सिनाले अवलोकनकर्ताहरुलाई सहजीकरण गर्नुका साथै उनीहरुको जिज्ञासा मेटाएका थिए । गत फागुन १९ गतेबाट सञ्चालनमा आएको कृषक पाठशालामा कृषक प्लट तथा आईपिएम प्लटको तुलनात्मक अध्ययन भईरहेको छ । २५ जना कृषकहरु सहभागी उक्त पाठशालामा हरेक हप्ता बिहान ७ बजेदेखि ११ बजेसम्म दैनिक अवलोकन गरिने व्यवस्था छ । एक बाली अवधी अर्थात करिब १६ हप्ताका लागि उक्त पाठशालामा अध्ययनको व्यवस्था गरिएको हो ।