३ नं. प्रदेश को नाम ‘गौरीशंकर’ राख्न प्रस्ताव
हेटौंडा, १ जेठ । दोलखा–१ का प्रदेशसभा सदस्य विशाल खड्काले प्रदेश–३ को नाम ‘गौरीशंकर’ राख्न प्रस्ताव गरेका छन् । सांसद खड्काले प्रदेशसभाको संसद सचिवालय र नेकपाको प्रदेश–३ संसदीय दलको कार्यालयमा मंगलबार एकसाथ प्रदेशको नाम ‘गौरीशंकर’ राख्न प्रस्ताव दर्ता गराएका हुन्।
प्रदेश राजधानीको विषयमा विवाद चलिरहेको बेला सांसद खड्काले प्रदेशसभाको सचिवालयमा नामको विषयमा पहिलोपटक प्रस्ताव दर्ता भएको दावी गरे। नेपाल कम्युनिष्ट पार्टीको संसद सचिवालयमा प्रस्ताव पेश गरे लगत्तै सांसद खड्काले संसद सचिवालयमा पनि प्रस्ताव दर्ता गराएका हुन्।
उनले ६ ओटा आधार सहित प्रदेशको नाम गौरीशंकर उपर्युक्त हुने भन्दै प्रस्ताव दर्ता गराएका छन्। सांसद खड्काले प्रस्तुत गरेको आधारमा रोल्वालिङ हिमश्रृङखलामा पर्ने गौरीशंकर हिमाल पवित्र हिमाल भएका कारण सोही हिमालको नामबाट प्रदेशको नाम राख्नु पर्ने उल्लेख छ।
दर्ता गराएको प्रस्तावमा धार्मिक एकता, सांस्कृतिक विविधता, नेपालको प्रामाणिक समय र भौगोलिक पहिचान सहितको नाम गौरीशंकर राख्न उपर्युक्त भएका कारण गौरीशंकर उपर्युक्त नाम हुने आधार पेश गरिएको छ। नेपालको अन्तराष्ट्रिय पहिचान हिमाल र बुद्धको देश भए पनि प्रदेश–१ बाहेक अन्य प्रदेशको नाम हिमालबाट राखिने सम्भावना कम भएका कारण पनि प्रदेशले हिमालकै नाम राख्न उपर्युक्त हुने तर्क गरेका छन् ।