पाँचथर हत्याकान्ड प्रकरण : शवको पोस्टमार्टम सकियो
८ जेष्ठ, २०७६ । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा सोमबार राति हत्या गरिएकाहरुको शव धरानमा पोस्टमार्टम गरिएको छ ।
मृतक सबैको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरी बुधबार परिवारको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक डुण्डीराज न्यौपानेले जानकारी दिए ।
काठमाडौंबाट आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को विशेष टोलीले मंगलबार घटनास्थलको अनुगमन गरेर अनुसनधान अघि बढाएपछि उठाइएका शव धरान ल्याएर पोस्टमार्टम गरिएको हो । पोस्टमार्टममा धारिलो हतियार प्रहार गरी हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ ।
मिक्लाजुङ–७, लुमाङ्दिनमा झुन्डिएको अवस्थामा फेलापरेको एउटा शव पनि सँगै धरान ल्याएर पोस्टमार्टम गरिएको हो ।
मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको थियो । घटनास्थलभन्दा दुई घन्टा परको पैदल दूरीमा मानबहादुर माखिमको शव पनि झुन्डिएको अवस्थामा फेलापरेको थियो । माखिमले नै दुवै परिवारका सदस्यको हत्या गरेर आफू झुन्डिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।