करोडौंको भारतीय जाली नोटसहित चारजना पक्राउ
जेठ १०, २०७६ । प्रहरीले करोडौंको भारतीय जाली नोटसहित चारजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। कतारको दोहाबाट काठमाडौं आएको कतार एयरवेजको जहाजमा आएका तीनजना पाकिस्तानीबाट करोडौँको भारतीय जाली नोट प्रहरीले बरामद गरेको हो । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका डिएसपी नारायण रञ्जीतकारका अनुसार तीनवटा सुटकेसमा जाली नोट ल्याइएको भेटिएको छ। अहिलेसम्म हामीले एउटा सुटकेसको जाली नोट गन्न भ्याएका छौँ, डिएसपी रञ्जीतकारले भने, अन्य दुईवटा सुटकेसको गन्न बाँकी छ। गनिसकेको जाली नोट तीन करोड ५० लाख भन्दा धेरै छ। रञ्जीतकारका अनुसार यसअघि जाली नोट प्रकरणमा जेल बसिसकेका युनुस अन्सारी उक्त नोट बुझ्न विमानस्थल पुगेका थिए । उनलाई पनि प्रहरीले विमानस्थलबाटै पक्राउ गरी हिरासतमा लिइसकेको छ। ‘अहिले मुचुल्का उठाइरहेका छौँ’, डिएसपी रञ्जीतकारले भने, ‘बाँकी दुईवटा सुटकेसमा पनि रहेको आशंका छ। त्यो खोलेर गनिसक्दा अझै धेरै परिमाणको जाली नोट हुन सक्छ।’ पक्राउ पर्दै छुट्दै भारतीय नक्कली नोटको कारोबार गरेको आरोपमा जेल परेर छुटेका युनुस अन्सारी २०७० माघ ११ गते पनि पक्राउ परेका थिए । नेपाल प्रहरीको विशेष टोलीले अन्सारीलाई ललितपुरको नख्खिपोटस्थित निवासबाट ३५ लाख भारतीय नक्कली भारुसहित पक्राउ गरेको थियो। त्यसबेला उनीसहित पाकिस्तानी नागरिक महसुद आलम, नेपाली नागरिक सुरेश आलेमगर र सोहेल खान थिए। अन्सारी त्यसबेला २०७० असोज १८ मा केन्द्रीय कारागारबाट रिहा भएका थिए। अन्सारी पटक पटक नक्कली भारतीय रुपैयाँ र लागूपदार्थको कारोबार गरेको आरोपमा पक्राउ परेका थिए । अन्सारीमाथि केन्द्रीय कारागारभित्रै भारतीय ुसार्प सुटरुले गोली हानेका थिए ।