काठमाण्डौ विस्फोट अपडेट : ज्यान गुमाउनेको संख्या ४ पुग्यो
हेटौँडा,१३ जेठ । काठमाण्डौमा आइतबार भएका विस्फोटमा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । अरु ७ जना घाइते भएका छन् । सुकेधाराको ढलाने पुल नजिकै सैलुनमा भएको विस्फोटमा घाइते भएका एक जनाको उपचारका क्रममा निधन भएपछि ज्यान गुमाउनेको संख्या ४ पुगेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । यसअघि सुकेधारामा भएको विस्फोटमा २ जना र अनामनगर नजिकै घट्टेकुलोको एउटा घरको कोठामा विस्फोट हुँदा १ जनाको ज्यान गएको थियो । मृतक चारै जना नेत्रविक्रम चन्द (विप्लव) का कार्यकर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बम बनाउने क्रममा विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यस्तै चन्द्रगिरी नगरपालिका–३ इँटाभट्टा चोकमा बम विस्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा भएको विस्फोटमा आकाश लामा घाइते भएका हुन् । यसैबीच घट्टेकुलोमा सिलिण्डर बम लिन गएका र त्यहाँ विस्फोट भएपछि भागेर कोठामा आएका सात जनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुको कोठाबाट विस्फोट गराउन तयारी अवस्थामा रहेको कुकर बम फेला परेको प्रहरीले जनाएको छ । यसैबीच गृहमन्त्री रामबहादुर थापाले काठमाण्डौ उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ । काठमाण्डौमा आइतबार विस्फोटपछि आकस्मिकरुपमा गृह मन्त्रालयमा बसेको बैठकमा उहाँले घटनाबारे विस्तृत अनुसन्धान गर्न र सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको गृह मन्त्रालयले जनाएको छ ।