८ वर्षीय बालकको अपहरणपछि हत्या, गोली प्रहार गरी अपहरणकारी पक्राउ
जेष्ठ १५, २०७६ । ८ वर्षीय बालकको अपहरण पश्चात हत्या गरि फिरौती माग गर्ने तीनजनालाई पर्सा प्रहरीले गोली प्रहार गरि पक्राउ गरेको छ । पर्सा प्रहरीले ८ वर्षीया बालकलाई अपहरण गरी हत्या गर्ने अभियुक्तलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका–३ प्रगतिनगरका शम्भु साहका ८ वर्षीय छोराको अपहरणपछि हत्या गर्ने ३ जनालाई प्रहरीले पक्राउ हो । बालकको खोजीका लागि प्रदेश नम्बर २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साबाट परिचालन भएको प्रहरीले मंगलबार ( जेठ १४ गते) वीरगन्जबाट भारत घर बताउने वीरगन्जको प्रगतिनगरमै डेरा गरी बस्ने वर्ष २१ को विकास शर्मा, बाराको कलैया घर भएका सिकेन्द्र साह तेली र बाराकै खपरताता घर भएका राम विनेश महतोलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका व्यक्तिहरुले बच्चालाई मारेर बाराको कलैया–२५ अन्तर्गत खौराही खोलामा फालेको बताएका थिए । प्रहरीले उनीहरुकै बयानका आधारमा खौराही खोलामा बालकको खोजी शुरु गरेको थियो । बालकको खोजीकै क्रममा पक्राउ परेका तीनैजनाले भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर भारत घर बताउने विकास शर्मा र बाराको कलैया घर भएका सिकेन्द्र साह तेली घाइते भएका छन् । कम्मरमुनि गोली लागेका उनीहरुको हाल नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार अपहरणमा संलगन भारत घर बताउने विकास शर्मा अपहरित बालकका बुवा शम्भु साहका छिमेकी हुन् । उनीहरुबीच यसअघि पटक पटक झगडा हुने गरेको पनि प्रहरीले जनाएको छ । आफूसँग झगडा गर्ने शम्भुलाई ‘तह लगाउन’ भन्दै विकासले आफ्ना साथीको मद्दतमा बालकको अपहरण गरेको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीका अनुसार शम्भुका ८ वर्षीय छोरा जेठ १० गते बेपत्ता भएका थिए । सोही दिन राति ९ बजेतिर अपरिचित नम्बरबाट ३० लाख रुपैयाँ फिरौती माग गर्दै शम्भुलाई फोन आएपछि बालक अपहरणमा परेको खुलेको थियो ।