सप्ताहव्यापी कार्यक्रम गरेर हेटौंडामा विश्व वातावरण दिवस मनाइने
१५ जेष्ठ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिले सप्ताहव्यापी कार्यक्रम गरेर हेटौंडामा ४७ औं विश्व वातावरण दिवस मनाउने भएको छ । ‘स्वस्थ वायु, स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ टोविस नगर समन्वय समितिले जेठ १६ गते भोली देखि सप्ताहव्यापी कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाउने भएको हो ।
त्यसै सन्दर्भमा वुधबार आज हेटौंडामा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष ध्रुव अधिकारीले विगत १६ वर्ष देखि हेटौंडाबासिको पहिचान तथा वातावरणप्रतिको सामूहिक सचेत प्रतिबद्धता अभिव्यक्ति गर्ने महत्त्वपूर्ण पर्वको रूपमा व्यापक जनमानसको उपस्थितिमा यस वर्ष पनि विश्व वातावरण दिवस विविध कार्यक्रम गरी मनाइने जानकारी दिए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् जेठ १६ गते फोहोरमैला व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम, १७ गते रक्तदान कार्यक्रम, १८ गते नगरका सम्पूर्ण वडाहरूमा विशेष सरसफाइ अधियान सञ्चालन गर्ने, १९ गते सार्वजनिक यातायातहरूमा डस्टबिन वितरण कार्यक्रम, २० गते जनचेतनामूलक साईकल र्यालि, २१ गते वृक्षारोपण कार्यक्रम, विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता र २२ गते विश्व वातावरण दिवसको दिन वातावरणीय सचेतना मूलक वृहत र्यालि कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।
हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र कृयाशिल टोल विकास संस्थाहरू, विद्यालयहरू, गैसस, क्लब, धार्मिक तथा जातीय संघ संस्थाहरू, सञ्चारकर्मी र नागरिक समाजका अगुवाहरूको समन्वय र सकृयतामा यस उपमहानगरपालिका क्षेत्रको वातावरणीय स्वच्छता कायम राख्न, समुदाय स्तरसम्म जागरण सृजना गर्न, मुलूक भरमै सफा शहरको रूपमा पहिचान आर्जन गर्न, वातावरण मैत्री उन्मुख नगर बनाउन सबैबाट अहम भुमिका निर्वाह हुदै आएको उनको भनाइ थियो ।