आरोहीले गरे मकवानपुरको तीन बिद्यालय भवन निर्माण

१६ जेष्ठ,हेटौंडा । सगरमाथा आरोहण गरी भुकम्प प्रभावित मकवानपुरको तीन विद्यालयका लागि भवन निर्माण गरिएको छ । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाको वडा नम्बर ९, भैरुङ दोभानस्थित ज्ञानोदय आधारभूत बिद्यालय, वडा नम्बर १०, मन्थलीको सरस्वती आधारभूत बिद्यालय र वडा नम्बर ११ ठिंगनको लालकिरण आधारभूत बिद्यालयलाई दुई–दुई कोठे भवन निर्माण गरिएको हो । बेलायतका पर्वतारोही रोरी म्याकहुज र बर्नी एङ्गोलाले भवन अभाव झेलिरहेको मकवानपुरको तीन विद्यालयमा भवन निर्माण गरी सहयोग गरेका हुन् । मकवानुरको बकैया गाउँपालिका ९, भैरुङ दोभानस्थित ज्ञानोदय आधारभूत बिद्यालयमा निर्मित भवनलाई बुधबार हस्तान्तरण समेत गरिएको छ । १६ लाख रुपैंयामा निर्मित पक्की भवनको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र पर्वतारोही म्याकहुज र एङ्गोलाले संयुक्त रुपमा उद्घाटन समेत गरे । बिद्यालयका अध्यक्ष दुर्गाबहादुर घलान र प्रधानध्यापक रामकिसुन शाहले भवन निर्माणले निक्कै सहयोग पुगेको बताए । बिद्यालयमा ६३ जना बालबालिका अध्ययनरत रहेका छन् भने उनीहरु सबै तामाङ समुदायका हुन् ।

पर्वतारोहीहरुले बिद्यालय भवन निर्माण गर्न इस्थर बेञ्जामिन मेमोरियल फाउण्डेशन संस्थामार्फत् आर्थिक सहयोग गरेका थिए । दुई कोठे भवन निर्माण गर्न प्रति बिद्यालय १६ लाख रुपैंया सहयोग उपलब्ध गराईएको इस्थर बेञ्जामिन मेमोरियल फाउण्डेशनका मकवानपुर कार्यक्रम व्यवस्थापक बुद्ध लामाले बताए । उनका अनुसार बिद्यालयमा संस्थाले शौचालय, डेक्स–बेञ्च निर्माण र प्रारम्भीक बालबिकास केन्द्रका लागि सामग्री गरी थप ७ लाख ५० हजार रुपैंया समेत सहयोग गरेको छ । पर्वतारोही रोरी म्याकहुज र बर्नी एङ्गोलाले सन् २०१७ मे २६ तारिखमा सगरमाथा आरोहण गरेका थिए । भवन निर्माण भएका सरस्वती आधारभूत बिद्यालय र लालकिरण आधारभूत बिद्यालयको भवन पनि बिहीबार र शुक्रबार हस्तान्तरण गरिने कार्यक्रम व्यवस्थापक लामाले बताए । कार्यक्रममा ज्ञानोदय आधारभूत बिद्यालयकी अभिभावक लालमायाँ घलान, स्थानीय प्रगतिशील आधारभूत बिद्यालयका शिक्षक पेम्बा दोर्जे भोम्जन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*