मकवानपुरको स्वास्थ्य संस्थाको समस्या र चुनौतीबारे अनुगमन
१६ जेष्ठ,हेटौंडा । मकवानपुरका स्वास्थ्य संस्थाहरुको अवस्था, समस्या र चुनौतीबारे अनुगमन गरिएको छ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको मनहरी बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र हाँडिखोलामा रहेको स्वास्थ्य चौकीको अनुगमन गरिएको हो । प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको सेवा, भवन, उपकरण, कर्मचारी, औषधी, बिरामीको चाप लगायतको अवस्था, आईपरेको समस्या र समाधानको उपायको बारेमा सुचना संकलन गरिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रका अहेव शिवराम बानियाँ र हाँडिखोला स्वास्थ्य चौकीका ज्योतिराज लुईटेलले स्वास्थ्य संस्थाको बारेमा जानकारी दिएका थिए ।
अमेरिकी दातृ निकाय युएस्एडको आर्थिक सहयोगमा डेक नेपालद्वारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत अनुगमन गरिएको थियो । गैरसरकारी संस्था महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटाको नेतृत्वमा गएको टोलीले अनुगमन गरेको हो । टोलीमा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगर, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष साधुराम चौलागाई, डेक नेपालका कार्यक्रम संयोजक मानबहादुर वाईबा, स्वास्थ्य अधिकार सञ्जाल मकवानपुरकी संयोजक कुमारी वाईबा, नागरिक सरोकार मञ्चका संयोजक एवम् अधिबक्ता केशव गौतम लगायतको सहभागिता रहेको थियो ।