गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला भत्काउनेलाई हदैसम्मकोे कारवाहीको माग
हेटौंडा १६ जेठ । प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले चितवनको निर्माणाधीन रङ्गशालाको कम्पाउन्ड भत्काउनेलाई हदैसम्मको कारवाही गरिनुपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा मानव सेवा आश्रममा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री लामाले पवित्र उद्देश्यसहित निर्माण प्रारम्भ भएको रङ्गशाला भत्काउने व्यक्ति सच्चा देशभक्त हुन नसक्ने धारणा राखे । चितवनको घटनापछि धुर्मुस–सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसको प्रतिक्रिया हेरेर आफू भावुक भएको भन्दै ऊर्जाशील व्यक्तित्वको मन दुखाएर विकास रोकेर समाजलाई कस्तो सन्देश दिन खोजिएको हो ? उनले प्रश्न गरे । तीन दिनसम्म मनाइएको गणतन्त्र दिवसको आज तेस्रो दिन आश्रमका १५० आश्रितलाई फलफूल वितरण गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले गणतन्त्र प्राप्तिमा योगदान दिनेहरुको कदर गरिनुपर्ने बताए।