आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
जेठ २२, २०७६ । विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विश्व पर्यावरणप्रति विश्वस्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन सुरु गरिएको हो। विश्व वातावरण दिवसको यो वर्षको नारा ‘स्वच्छ वायु, स्वस्थ जीवन’ तय गरिएको छ। वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को जुन ५ देखि जुन १६ सम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो। सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ को जुन ५ मा पहिलोपटक विश्व वतावरण दिवस मनाउन सुरु गरिएको हो । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले विकास वातावरणमैत्री हुनुपर्ने बताएका छन्। विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले विकास र वातावरणबीच सन्तुलन हुनसके मात्र हामीले हासिल गर्ने उन्नति दिगो र मानव उपयोगी हुने उल्लेख गर्नुभएको छ।