राष्ट्रिय एकताको भावना अझै मजबुत होस्, इस्लाम धर्मावलम्बीलाई ‘इद मुवारक’ – प्रधानमन्त्री ओली
२०७६,जेठ २२। प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महान् चाड इद उलफित्रका अवसरमा इस्लाम धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ । विविध धर्म र संस्कृति अङ्गाल्ने नेपालका सबैमा सौहाद्रता र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन प्रेरित गरोस् भन्ने कामना गर्दै उहाँले इद उलफित्रको शुभकामना दिनु भएको हो । रमदानको एक महीनाभरि भोक र तिर्खा बिर्सेर इन्द्रीयहरूलाई क्रोध र स्वार्थजस्ता अवगुणबाट टाढा राखी मानव जातिका लागि आदर्श जीवनयापनको अभ्यास गर्ने अवधिका रुपमा ग्रहण गरिने कुरा प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा छ । जीवनयापन गर्न अभ्यस्त भएको खुशियालीमा यो पर्व मनाउने गरिएको विश्वास पनि मुस्लिम समुदायमा रहेको उहाँको भनाइ छ । उहाँले यस पवित्र पर्वका अवसरमा विश्वभरका इस्लाम धर्मावलम्बीलाई ‘इद मुवारक’ भन्दै शुभकामना समेत दिनुभएको हो । नेपालको संविधानको प्रस्तावनामै देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा जुनसुकै धर्म र संस्कृति अवलम्बन गर्ने हरेक नेपाली नागरिकको धार्मिक तथा सांस्कृतिक जीवनमा हर्षोल्लासका साथ सहभागी हुने अधिकार संविधानमा सुनिश्चित भएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “उत्साहको यही परिवेशमा आर्थिक–सामाजिक रुपान्तरणको ध्येयका साथ सारा देश ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर छ”, सन्देशमा भनिएको छ । संविधानले धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहितको धर्मनिरपेक्षतालाई सुनिश्चित गरिसकेको आजको परिप्रेक्ष्यमा नेपालका मुस्लिम समुदायलगायत सबैको धार्मिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति एवं इस्लाम धर्मावलम्बीको धार्मिक स्वतन्त्रता, हकअधिकारलाई सुव्यवस्थित एवं सुनिश्चित गर्न संवैधानिक व्यवस्थाअनुरुप मुस्लिम आयोग क्रियाशील रहेको कुरा शुभकामना सन्देशमा छ ।