प्रधानमन्त्री ओलीद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
२०७६ जेठ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले एभोकाडोको बिरुवा रोपेर फलफूलको बिरुवा रोपण अभियानको सुरुवात गरेका छन्। विश्व वातावरण दिवसको सन्दर्भमा बुधबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा एभोकाडोको बिरुवा रोपेर प्रधानमन्त्री ओलीले ‘एक नेपाली एक फलफूलका बिरुवा रोपण अभियानको निरन्तरता कार्यक्रम’को औपचारिक उद्घाटन गरेका हुन्। उनले एभोकाडोको बिरुवा रोपेर सिँचन पनि गरे। ‘एक नेपाली एक फलफूलका बिरुवा रोपण अभियानको निरन्तरता कार्यक्रम’को उद्घाटन समारोहमा सरकारका मन्त्रीहरु, उच्चपदस्थ कर्मचारी, सरकारका सबै निकायका उच्च पदाधिकारीलगायतको उपस्थिति थियो।
गृहमन्त्री रामबहादुर थापा, खानेपानीमन्त्री विना मगर, उद्योगमन्त्री मात्रृका यादवलगायतले पनि फलफूलका बिरुवा रोपेका थिए। सरकारले आगामी वर्षलाई ुवृक्षारोपण वर्षुको रुपमा मनाउने घोषणा गरेको छ। त्यसैगरी कृषि वनको विस्तार गर्न सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलको उत्पादन गर्ने, सदुपयोगको सिद्धान्त बमोजिम खाली र बाँझो जमिनमा फलफूलका बिरुवा रोप्ने नीति कार्यान्वयन गर्ने सिलसिलामा बुधबार फलफूलका बिरुवा रोपनलाई निरन्तरता दिने कार्यक्रमको शुभारम्भ गरिएको हो। लमजुङ, रोल्पा, पर्वत, उदयपूर र कास्कीमा सबैभन्दा बढी बिरुवा रोपिएको जानकारी कार्यक्रममा गराइएको थियो।