हेटौंडा अस्पतालमा टोकन सिस्टम लागू
२०७६,जेठ २२ । हेटौंडा अस्पतालमा बिरामीको चाप बढेसँगै सेवाग्राहीको सहजताका लागि टोकन सिस्टम लागू गरिएको छ । अस्पतालका अनुसार टोकन सिस्टमले गर्दा जेष्ठ नागरिक, महिला, अपांगता भएका व्यक्ति लाइनमा बस्नु नपर्ने भएको छ । अस्पतालमा दैनिक ३ सयभन्दा बढी बिरामी सेवा लिन आउने गर्दछन् । अस्पतालको सेवामा सुधार भएसँगै जिल्लाभरका सेवाग्राहीको भीड लाग्न थालेको हो ।
सेवा लिन आएका बिरामी लामो समय लाइन बस्नुपर्ने भएकाले सेवाग्राहीको सहजताका लागि अस्पतालले टोकन सिस्टम लागू गरेको हो । अस्पतालले ३ लाख रुपैयाँको लागतमा ५ वटा अटो डिस्प्लेसहित टोकन सिस्टम सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख डा प्रवीण श्रेष्ठले बताए । टोकन लिएर आफ्नो पालोमा टिकट वा पैसा तिर्न जान सकिन्छ । बच्चा बोकेर लाइनमा घण्टौंसम्म बस्नुपर्ने बाध्यता हटेको अस्पतालका प्रमुख श्रेष्ठले बताए । ‘टोकन सिस्टम लागू गरेकाले लाइनमा बसिरहनुपरेन,’ हेटौंडा उपमहानगरपालिका १९ का रेवती ढकालले भने, ‘आफ्नो पालो आउने बेलामा आए भै गो, टोकनले सजिलो भएको छ ।’ हेटौंडा अस्पतालले स्वास्थ्य बिमा, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई छिट्टै नै अर्को काउन्टरको व्यवस्था गर्ने योजना रहेको बताएको छ । पछिल्लो समय हेटौंडा अस्पतालमा सेवा थपिएका छन् । छाला, पाठेघरको मुखको क्यान्सर ९भीआईए० र दन्तसम्बन्धी सेवा थप गरिएको अस्पताल विकास समितिको अध्यक्ष प्रकाश पौडेलले बताए । विगतमा अस्पतालमा दन्त र छालासम्बन्धी सेवा नहुँदा बिरामी रिफर गरेर चितवन र काठमाडौं पठाउनुपर्ने बाध्यता थियो अहिले त्यो हटेको उनले सुनाए ।