९२ हजारले दिँदै कोरियन भाषा परिक्षा
२४ जेष्ठ, २०७६ । यस वर्षको इपिएस कोरियन भाषा परीक्षा दिनेको संख्यामा विगतको भन्दा बृद्धि भएको छ । गत वर्षको तुलनामा यो वर्ष कोरियन भाषा परीक्षा दिने परीक्षार्थीको संख्या १० हजार भन्दा बढीले वृद्धि भएको हो । गत वर्ष ८२ हजार ३ सय ३५ ले परीक्षा दिएकोमा यो वर्ष ९२ हजार ३ सय ७६ जना परिक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । इपिएस अन्तरगत यही जेठ २५ र २६ गते सो भाषा परीक्षा हुँदै छ । पहिलो चरणको सो परीक्षामा सहभागी हुने पुरुष परीक्षार्थीको संख्या ७७ हजार ३ सय ६१ र महिलाको संख्या १४ हजार ९ सय ९५ रहेको छ । यस वर्ष सबैभन्दा बढी म्यान्युफ्याक्चर क्षेत्रमा काम गर्न चाहने परिक्षार्थीको संख्या ६३ हजार ४ सय ८९ जना रहेको छ ।
कोरिया भाषा परीक्षाको सम्पूर्ण तयारी पूरा भएको ईपीएस कोरिया शाखाका जनाएको छ । कोरिया भाषा परीक्षा दिन काठमाडौंमा २१, पोखरामा चार र लतिपुरमा सात स्थानमा परीक्षा केन्द्र तोकिएको छ ।कोरिया भाषा परीक्षा शनिबार र आइतबार २ सिफ्टमा सञ्चालन हुनेछ । पहिलो सिफ्टको परीक्षा बिहान १० देखि १० बजेर ५० मिनेट सम्म र दिउँसो १ बजेर ३० मिनेट देखि २ बजेर २० मिनेट सम्म हुने इपिएस कोरिया शाखाले जनाएको छ ।