हेटौँडामा थप स्वास्थ्य केन्द्र निर्माण हुदै
जेठ २७, हेटौँडा । उपमहानगरपालिकाले नगरका सबै क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन थप छ वटा शहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ। हेटौँडा उपमहानगरपालिकाको शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता भएकाले यसलाई विशेष जोड दिँदै स्वास्थ्य केन्द्र निर्माण गर्न लागेको हो। उपमहानगरले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले हाल सञ्चालन भइरहेका स्वास्थ्य संस्थालाई पनि थप सुविधा सम्पन्न बनाउने र नगरका विभिन्न वडामा छ वटा नयाँ स्वास्थ्य केन्द्र थप्ने निर्णय गरेको जनाएको छ । विगतमा हेटौँडा शिक्षा र स्वास्थ्यमा पछाडि परेकामा हाल शिक्षा क्षेत्रमा निकै नै प्रगति गरेपनि स्वास्थ्य क्षेत्र कमजोर रहेकाले यसतर्फ उपमहानगर लागेको बताउनहुन्छ प्रमुख हरिबहादुर महत। उपचार नपाएर कोही कसैले पनि मृत्युको मुखमा पुग्न नपरोस् भन्ने उदेस्यले थप छ वटा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको प्रमुख महतले बताए। गतवर्ष हेटौंडाको हटियामा चिकित्सकसहितको शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ। यसवर्ष हेटौंडाको वडा नं १, ४, ५, १२, १६ र १८ मा शहरी स्वस्थ्य केन्द्र स्थापना हुने उपमहानगरपालिकाले जनाएको छ।