नेपाली कांग्रेसद्वारा संसद अवरुद्ध
२०७६, जेठ २७ । गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा धरपकडको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेस संसद् अवरुद्ध पारेको छ । सोमबारको बैठक सुरु भएलगतै कांग्रेसले गुठी विधेयक र त्यसको विरोधमा प्रदर्शन गर्दा गुठियारहरुमाथि भएको धरपकडको विरोध गरे । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले धर्म प्रचारकको टोपी लगाएर सरकारले पुरानत संस्कृतिमाथि प्रहार गरेको आरोप लगाए । लगतै भूमिसुधारमन्त्री पद्मा अर्यालले विधेयकबारे जवाफ दिइन् । उनले मौलिक परम्परा र धर्म संस्कृतिमाथि असर नपर्ने गरी विधेयक आएको र यसबारे भोलिका दिनमा संसदमा छलफल हुने बताइन् ।
तर, प्रहरी धरपकडबारे गृहमन्त्रीको जवाफ आउनुपर्ने भन्दै कांग्रेस सांसदहरुले अवरोध गरे । सभामुखले गृहमन्त्री सदनमा नभएको भन्दै समय मागेका थिए तर, प्रमुख विपक्षीले अवरोध जारी राखेपछि संसद् बैठक स्थगित भएको छ ।