फ्रान्सेली व्यवसायीसँग नेपालमा ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह
३० जेष्ठ ,२०७६ । युरोपेली ३ देशको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका उद्योगी-व्यवसायीलाइ भेटेका छन् । बुधबार लण्डनबाट भूमिगत रेलमार्ग हुँदै फ्रान्सको राजधानी पेरिस पुग्नुभएका ओलीले त्यहा बिहीबार स्थानीय उद्योगी व्यवसायीको टोलीसँग छलफल गर्नुभएको हो ।
सो छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण बनेका जानकारी गराउँदै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नेपालमा राजनीतिक स्थायित्व कायम भएर मुलुक समृद्धिको दिशामा अघि बढेको जनाउँदै लगानी जोखिम नरहेकोबारे बताउनुभयो । साथै कानुनी जटिलताहरु समेत अन्त्य गरिएको र वैदेशिक लगानीका लागि प्राथमिकताका क्षेत्रहरु छनौट गरिएको भन्दै निर्धक्क लगानी गर्न सकिने उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले आजै फ्रान्सका प्रधानमन्त्री इडुवार्ड फिलिपसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । ९ दिने युरोप भ्रमणका लागि निस्कनुभएका उहाँले यसअघि स्वीट्जरल्याण्ड र बेलायतको भ्रमण गरिसक्नुभएको छ । उहाँसहितको टोली असार १ गते स्वदेश फर्कने कार्यक्रम छ ।