सातवटै प्रदेशको बजेट आज आउदै ,प्रदेश ३ को सबैभन्दा ठूलो

१ असार,हेटौंडा । सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि आ-आफ्नो बजेट सार्वजनिक गर्दैछन् । स‌ंघीय संरचनामा मुलुक गएपछि स्थापित प्रदेशहरुको यो दोस्रो मौलिक बजेट हो । गत वर्ष पहिलो पटक आफ्नै बजेट ल्याएका प्रदेशहरुले कुल विनियोजित बजेटको औसतमा २२ प्रतिशत मात्र खर्च गर्न सकेका छन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने व्यवस्था गरेअनुसार ७ वटै प्रदेश सरकारहरुले आज बजेट सार्बजनिक गर्न लागेका हुन् । सबैभन्दा ठूलो बजेट प्रदेश- ३ को रहेको छ भने सबैभन्दा सानो आकारमा सुदूरपश्चिमको रहेको छ । प्रदेश- १ ले आगामी आर्थिक बर्षका लागि करिब ३६ अर्ब रुपैयाँको बजेट ल्याउन लागेको छ । यस्तै, प्रदेश- २ ले करिब ३२ देखि ३४ अर्ब रुपैयाँ सम्मको बजेट ल्याउने गृहकार्य गरेको छ ।
यस्तै प्रदेश- ३ ले सबैभन्दा धेरै ५० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । त्यस्तै गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि गत वर्षको भन्दा करिब ६ अर्बले वृद्धि गरी ३० अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।
यता, प्रदेश नम्बर ५ ले पनि गत वर्षको भन्दा झन्डै २५ प्रतिशतले बजेट वृद्धि गरी ३५ अर्ब हाराहारीको ल्याउँदै छ । यस्तै कर्णाली प्रदेशले केन्द्र सरकारसँग ऋण नलिने गरी ३० देखि ३२ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । उता, सुदूरपश्चिम प्रदेशले भने सबैभन्दा सानो बजेट ल्याउने तयारी गरेको छ । उसले गत वर्षको भन्दा यस वर्ष करिब ४ अर्ब रुपैयाँले वृद्धि गरी २९ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*