हेटौंडा-काठमाडौं सुरुङमार्गको ५ करोड फ्रिज हुँदै

असार ३, हेटौंडा । प्रदेश ३ को सरकारले हेटौंडा–कुलेखानी–काठमाडौं सडकमार्गमा ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग’को निर्माणको योजना आगामी आर्थिक वर्षको बजेटमा पनि पारेको छ । जबकि चालु आर्थिक वर्षमा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)का लागि छुट्याइएको ५ करोड रुपैयाँ अध्ययन नै नगरी फ्रिज हुन लागेको छ । काम सुरु गर्न संघीय सरकारबाट स्वीकृति नपाउँदै प्रदेश सरकार सुरुङमार्गको अध्ययनका लागि अग्रसर भएको हो । हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग निर्माणको जिम्मेवारी नेपाल पूर्वाधार विकास कम्पनी ९एनपीबीसीएल०ले पाएको छ । यो कम्पनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीको अग्रसरतामा खुलेको थियो ।
तर, लामो समयसम्म पनि यो परियोजनाका लागि कम्पनीले लगानी जुटाउन सकेको छैन । यसैकारण प्रदेश सरकारले यो सडकमार्गको एउटा खण्डमा आफैंले सुरुङमार्ग निर्माण गर्न दुईवटा बजेटमा कार्यक्रम र बजेट समावेश गरिसक्यो । भीमफेदी–कुलेखानी खण्डमा मात्रै सुरुङ बनाउने र अन्य खण्डलाई स्तरोन्नति गर्ने योजना प्रदेश सरकारको हो । तर, प्रदेश सरकारले चाहँदैमा सुरुङमार्ग निर्माण अगाडि बढाउन सक्ने अवस्था छैन । यसका लागि नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडलाई केन्द्र सरकारले दिएको अनुमति खारेज गर्नुपर्छ । यसका लागि गत भदौ ६ गते नै पत्र लेखेर प्रदेश सरकारले संघ सरकारलाई एनपीबीसीएललाई यो सुरुङमार्ग परियोजनाबाट बाहिर निकाल्न आग्रह गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*