प्रदेश ३ को बजेटप्रति उद्योगी–व्यवसायी उत्साहित
हेटौंडा, असार ४ । आगामी आर्थिक वर्षका लागि प्रदेश नम्बर ३ सरकारले ल्याएको बजेटप्रति उद्योगीरव्यवसायी उत्साहित भएका छन् । कृषि तथा उद्योग क्षेत्रको विकासका लागि महत्वपूर्ण कार्यक्रम र योजना आएको भन्दै उनीहरुले कार्यान्वयन भने चुनौतीपूर्ण भएको प्रतिक्रिया दिएका छन् । प्रदेश ३ सरकारले झन्डै ४८ अर्ब रुपैयाँको बजेट ल्याएको छ । यो अन्य प्रदेशको भन्दै निकै ठूलो बजेट हो । श्रम उत्पादन, कृषि क्षेत्रको विकास र रोजगारीलाई प्रमुख प्राथमिकतामा राखिएको बजेटमा केही महत्वपूर्ण योजना समेटिएका छन् । प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त बनाउने, २०७८ सम्ममा बालविवाहमुक्त र २०८० सम्ममा बालमैत्री बनाउने, एक स्थानीय तह एक विशेष उत्पादनसहित कृषि क्षेत्र र पर्यटनका महत्वाकांक्षी योजना पनि अघि सारिएको छ ।
त्यस्तै, प्रदेश गौरवको आयोजनाको रुपमा पोस्टबहादुर बोगटी सुरुङमार्ग, पुष्पलाल प्रदेश चक्रपथ, हेटौंडा–फाखेल–फर्पिङ सडक स्तरोन्नति, मदनकुमार भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठानका साथै विद्युतीय सवारी साधन सञ्चालनलाई बजेटले प्राथमिकता दिएको छ ।
सत्तारुढ नेकपाका प्रदेश ३ का सांसद प्रेमबहादुर पुलामी बजेट जनमुखी रहेको र समग्र क्षेत्रलाई समेटेको दाबी गर्छन् । उद्योग वाणिज्य संघका मकवानपुरका अध्यक्ष कृष्ण कटुवाल बजेटमा स्वास्थ्य, उद्योग र कृषि क्षेत्रको विकासका लागि महत्वपूर्ण कार्यक्रम समेटिएकाले कार्यान्वयनमा इमान्दार बन्नुपर्नेमा जोड दिन्छन् । त्यस्तै, उद्योग संरक्षण र उद्योग ग्राम स्थापना गर्ने विषय सकारात्मक रहेको भन्दै स्वदेशी उद्योगको संरक्षणका लागि नीति र नियमावली बनाउनुपर्ने उद्योग संघ हेटौँडाका अध्यक्ष नवराज अर्यालको भनाइ छ । झट्ट हेर्दा र सुन्दा हरेक वर्ष आकर्षक देखिए पनि कार्यान्वयन हुन नसक्दा जनता पटकपटक निराश छन् । कितावमा लिपीबद्ध गरिएका योजना र कार्यक्रमलाई कसरी कार्यान्वयन गरिन्छ यो पाटो महत्वपूर्ण हो ।