नेपालमा २-३ दिनमा मनसुन भित्रिने संकेत
असार ४,२०७६ । अबको एक-दुई दिनमा मनसुन नेपाल भित्रिने संकेत देखिएको मौसमविद्ले जनाएका छन् । बंगलादेश र भुटानसम्म मनसुन आइसकेको र अब शुक्रबारसम्म नेपालमा मनसुन भित्रिने देखिएको हो । अब बिस्तारै तापक्रम घट्दै जाने र १, २ दिन आशिंकदेखि सामान्य बद्ली भई बेलुका धेरै ठाउँमा पानी पर्नेछ । त्यसपछि मनसुन सूरु हुने हुँदा गर्मी बढ्ने सम्भावना नरहेको मौसमविद्ले बताए । सामान्यतया जुन १० तारिखमा मनसुन नेपाल भित्रिन्छ। यस हिसाबले यस वर्ष मनसुन प्रवेशमा केही ढिलाइ भएको छ।
त्यस्तै आज देशभर वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार आजदिनभरीमा देशका धेरै जसो स्थानमा वर्षा हुनेछ । आज मध्यपश्चिम र सुदूरपश्चिमका धेरै स्थानमा वर्षा हुने सम्भावना छ। यी स्थानका तराई क्षेत्रमा पनि आज पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ। त्यसैगरी राति देशको पूर्वी तथा मध्य भूभागमा सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहने छ । पूर्व तथा मध्य भेगका केहि र पश्चिमी भेगका थोरै स्थानहरुमा मेघगर्जनरहावाहुरी सहितको वर्षाको सम्भावना छ ।