प्रधानमन्त्रीलाई पठाइयो मकवानपुरका पत्रकारले संकलन गरेको हस्ताक्षर
६ असार,हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने माग गर्दै आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्ताक्षर पठाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फत असार ३ गते गरिएको हस्ताक्षर आज प्रशासन मार्फत पठाइएको हो । असार ३ गते बिहान हेटौंडाको स्कुलरोडमा हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो । महासंघको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अनुसार संकलित हस्ताक्षर नेपाल पत्रकार महासंघ मकवापनपुरका अध्यक्ष हरि हुमागाईले प्रजिअ तामाङलाई बुझाएका हुुन् । प्राप्त हस्ताक्षर आजै प्रधानमन्त्री कार्यालयमा पठाइने प्रजिअ तामाङले बताए। प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापीको कार्यक्रम अनुसार हेटौंडामा पनि कार्यक्रम गरिएको अध्यक्ष हुमागाईले बताए ।