क्रिकेट सिक्दै मकवानपुरका दृष्टिबिहीन
६ असार,हेटौंडा । मकवानपुरका दृष्टिबिहीनहरुलाई आजबाट हेटौंडामा क्रिकेट खेल खेलाउन सुरु गरिएको छ । हेटौंडाको फरेष्टि खेल मैदानमा दृष्टिबिहीनहरुलाइ क्रिकेट खेलाउन सुरु गरिएको हो । मकवानपुर नेत्रहिन संघ, नेत्रहिन पुनरस्थापना केन्द्र मकवानपुरको आयोजना तथा हेटौंडा उपमहनागरपालिकाको सहयोगमा दृष्टिबिहीनहरुलाइ क्रिकेट प्रशिक्षण दिन सुरु गरिएको छ । सात दिन सम्मको प्रशिक्षण पछी दृष्टिबिहीनहरु पनि क्रिकेट खेल्न सक्ने अपेक्षा गरिएको छ । कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहनागरपालिकाका उपप्रमुख मिना कुमारी लामाले दृष्टिबिहीनहरुलाइ सधै सहयोग गर्न आफुहरु तयार रहेको बताउनुभयो । क्रिकेट खेलाडी बन्नका लागि यो प्रशिक्षणले महत्वपूर्ण सहयोग पुग्ने समेत उहाँले बताउनुभयो । सात दिनको प्रशिक्षणमा १५ जनालाई सहभागि गराइएको मकवानपुर नेत्रहिन संघका अध्यक्ष तोरण बहादुर ओझाले बताउनुभयो ।
दृष्टिबिहीनहरुलाइ प्रशिक्षकका रुपमा रामप्रसाद पौडेल, गीता पौडेल र युवराज पाठकले सहजीकरण गर्नुहुने छ । उनीहरु तीनैजना दृष्टिबिहीन छन् । तर, कुनैन कुनै रुपमा हरेक क्षेत्रको क्रिकेट खेलमा सहभागि भने भएका छन् । तालिममा सहभागि दृष्टिबिहीनहरु आफुहरु सात दिन सम्मको प्रशिक्षणपछी सक्षम खेलाडी बन्ने लक्ष लिएका छन् ।