प्रधानमन्त्रीको निर्देशनपछि फुकाइयो रेशम चौधरीको नेल
असार ७, २०७६ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आग्रहसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनको कारण टीकारपुर हत्याकाण्डको अभियोगमा जेल जीवन बिताइरहेका सांसद रेशम चौधरीलाई लगाइएको १४ किलोको नेल (साङ्लो) हटाइएको छ। शुक्रबार राति चौधरीलाई भेटेपछि साङलो हटाउनका लागि बाबुराम भट्टराईले आग्रह गरेको केही समयमै साङ्लो हटाइएको चौधरीका भाइ मिठुलाल चौधरीले बताए। हिजो राति पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आउनुभएको थियो, उहाँलाई हामीले अमानवीय व्यवहार भएको बतायौँ उहाँले पनि चासो दिनुभयो म प्रधानमन्त्रीसँग भन्छु साङ्लो खोलिदिनुस् भन्नुभएको थियोु चौधरीले भने त्यसपछि रातिबाटै साङ्लो हटायो।
सांसद चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। अस्पतालमा समेत सांसद चौधरीको खुट्टामा रहेको सो नेल नहटाएपछि त्यसको चौतर्फी विरोध भएको थियो। खुट्टाको साङ्लो हटाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि माहतका निकायलाई निर्देशन दिएको जनाइएको छ। उनले मुख्यसचिव लोकदर्श रेग्मीमार्फत साङ्लो हटाउनको लागि निर्देश गरेका थिए। फोक्सो र ढाडमा समस्या देखिएपछि सांसद चौधरीलाई बिहीबार वीर अस्पताल भर्ना गरी उपचार थालिएको थियो।अहिलेको उनको लागि उपचार चलिरहेको छ।