हेटौंडा उपमहानगरपालिकाको बजेट एक अर्ब ८१ करोड
११ असार ,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आउँदो आर्थिक बर्षका लागि एक अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठकका अवसरमा यो बजेट प्रस्तुत गरिएको हो । हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले प्रस्तुत गर्नुभएको बजेटमा आन्तरिक श्रोतबाट ३० करोड ३४ लाख ९१ हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ४५ करोड ८४ लाख ९ हजार रुपैयाँ, प्रदेश ३ सरकारको बिभीन्न अनुदानबाट ८ करोड ३४ लाख ९९ हजार रुपैयाँको बजेट ल्याइएको छ । त्यसैगरी संघिय सरकारको अनुदानबाट ८६ करोड ६४ लाख रुपैयाँ प्राप्त हुने छ । उपमहानगरपालिकाको गतबर्षको नगद मौजदातबाट १० करोड रुपैयाँ बेहोरीने उपप्रमुख लामाले बताउनुभयो । बजेटमा दैनिक कार्यालय सञ्चालनका लागि तलब, भत्ता लगायत अन्य प्रशासनिक खर्चका लागि १९ करोड १४ लाख ४० हजार रुपैयाँ बिनियोजित गरिएको लामाले बताउनुभयो । कार्यालयको सुशासनतर्फमा ६ करोड ४५ लाख ८९ हजार रुपैयाँ छुट्याइएको छ । नगरको सामाजिक क्षेत्रतर्फका कार्यक्रमका लागि ५८ करोड ५५ लाख ४३ हजार रुपैयाँ छुट्याइएको छ ।
उपमहानगरपालिकाले पूर्बाधार बिकाशका लागि ८६ करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याएर काम गर्न लागिएको उपप्रमुख लामाले बताउनुभयो । त्यसैगरी हेटौंडालाई सफा, हरियाली, फूलैफूलको सहर निर्माणको कामलाई प्राथमिकता दिइएको छ ।
यसैबिच हेटौंडा उपमहनागरपालिकाका मेयर हरिबहादुर महतले आफुहरुको कामको गति छिटो भएको तर, त्यस अनुसार कानुन नभएकाले समस्या सृजना भएको बताउनुभएको छ । आज उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठकका अवसरमा बोल्दै उहाँले कामको स्प्रिड अनुसार कानुन भएमा काम गर्न सहज हुने बताउनुभयो । नेपालमा निर्माणको क्षेत्रमा निर्माण ब्यावसायीले बनाएको कानुन भएकाले यो समस्या आएको हुन सक्ने आसंका ब्यक्त गर्नुभयो । हेटौंडामा सडक फराकिलो बनाउने काम संगै फूलै फूलको शहरका रुपमा बिकाश गर्नका लागि आफू लागिपरेको बताउँदै मेयर महतले भन्नुभयो–‘हामै परिकल्पनाबाट शहिद स्मारक अहिलेको अवस्थामा पुग्यो । हेटौंडा बजारमा हरियाली भयो अब भने फूलै फूलको शहरका रुपमा बिकाश गर्न चाहन्छौ ।’ पूर्बाधारका काम संगै सामाजिक क्षेत्रमा उल्लेख्य काम गरिएको उहाँले बताउनुभयो । आफू थोरै बोल्ने तर, काम धेरै गर्नका लागि रुचाउने बताउनुभयो । पाँच बर्षको कार्यकालमा हेटौंडालाई नमुना शहरका रुपमा बिकास गरिने उहाँले बताउनुभयो ।