पशुपतिनाथलाई प्रदेश सरकार मातहत ल्याउन माग
१२ असार, हेटौंडा । तीन नम्बर प्रदेश सभाको बैठकमा हिन्दुहरुका आराध्यदेव पशुपतिनाथको मन्दिरलाई प्रदेश सरकारमातहत ल्याउन माग गरिएको छ । बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले पशुपतिलाई प्रदेश सरकार अन्तर्गत राख्न माग गरेका हुन् । प्रदेश सरकारले पशुपतिको लागि बजेट नदिएकोमा उनले आक्रोेश व्यक्त गरे। पशुपतिनाथको मन्दिरले ३ नम्बर प्रदेश सरकारका सबैलाई पाल्न सक्ने भन्दै उनले प्रदेशले त्यसमा ध्यान दिनुपर्ने बताए । सभामुखले पार्टी भन्दा माथि उठ्नुपर्ने भन्दै वैद्यले लाचार छाँया नहुन आग्रह गरे। वैद्यले प्रदेश पुर्वाधार विकास कार्यक्रमको चर्को विरोध गर्दै मुख्यमन्त्रीको प्रचार भए पनि भ्रष्ट्राचार बढ्ने बताए । बजेटले विभेद विनियोजन विधेयकमाथि बोल्दै नेमकिपाकी प्रदेश सभा सदस्य सिर्जना सायँजुले बजेटले काखा र पाखा गरेको भन्दै एनजिओ, आईनजिओको पृष्ठपोषण गरेको आरोप लगाइन् । उनले प्रदेश सरकारले बजेट आफ्नो हात आफैं जगन्नाथ गरेको समेत आरोप लगाइन् । नेकपाका सांसद दिपक निरौलाले भने सरकारको पक्षमा बोल्दै बजेटलाई बुझ्ने आफ्नो तरिका भएको बताए ।
उनले आफ्नो भुगोल मात्रै होइन सिंगो प्रदेशलाई नै बजेट हो भनेर सोच्नु पर्ने बताए । नेकपाकी सांसद शान्ति थिङले बजेट शतप्रतिशत राम्रो हुन नसकेको बताइन् । उनले बजेटले मन्त्री भएको जिल्लाबाट समृद्ध नेपाल, सुखी नेपालीको सुरुवात भएता पनि मन्त्री नभएको जिल्लामा बजेटले उपेक्षा गरेको बताइन् । समानुपातिक रुपमा बजेट वितरण गरे विनियोजन विधेयक उत्कृष्ट हुने उनले बताइन् । विनियोजन विधेयकमाथि बोल्दै राप्रपा संयुक्तकी सांसद रीना गुरुङले कम्युनिष्टको कार्यकर्तालाई पालन पोषण गर्ने खालको बजेट आएको बताइन् । कम्युनिष्टहरुलाई राजा महेन्द्रको पथमा चल्नसमेत उनले आग्रह गरिन् । पहुँचको आधारमा बजेट आउँदा भ्रष्ट्राचार मौलाउने भन्दै नेपाली कांग्रेसकी सांसद विजया श्रेष्ठ केसीले आपत्ति प्रकट गरिन् । यस्तै तत्कालिन नयाँ शक्तिका सांसद प्रेम तामाङले रसुवालाई उपेक्षा गरेको भन्दै बजेटको चर्को विरोध गरे । उनले प्रदेश नीति तथा योजना आयोग नालायक भन्दै खारेज गर्न माग गरे । साझा पार्टीकी सांसद शोभा शाक्यले प्रदेश पूर्वाधार विकास कार्यक्रमको बजेट फिर्ता गर्नुपर्ने बताइन् ।