सिरिञ्ज आतंक मच्चाउने व्यक्ति पक्राउ
असार १३, २०७६ । काठमाडौंको विभिन्न स्थानमा ‘सिरिञ्ज आतंक’ मच्चाएको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले रामेछाप घर भई नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो । प्रहरीले कार्कीको बा४७प १३३१ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । कार्कीले महाराजगञ्जमा फास्टफूड रेस्टुरेन्ट सञ्चालन गर्दै आएको खुलेको छ ।
राति १० बजे रेस्टुरेन्ट बन्द गरी सोह्रखुट्टे, टंकेश्वर, कालीमाटी हुँदै नैकाप फर्किने क्रममा बाटोमा भेटिएका महिलाहरूलाई रमाइलोका लागि ढलान किलाले घोप्दै हिँडेको कार्कीले स्वीकारेको प्रहरीले जानकारी दिएको छ । कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही समययता राजधानीमा आधा दर्जनभन्दा बढी महिला तथा युवतीमाथि यस किसिमको आक्रमण भएको थियो । एचआईभी सार्नका लागि सिरिञ्ज प्रहार गरेको भन्दै आतंक फैलिएको थियो । यसरी आक्रमणमा परेका केही महिलाले त एचआईभीको आकस्मिक उपचार समेत लिइरहेका छन् ।