बृक्षारोपण अभियान आजबाट औपचारिक रुपमा सुरु
१४ आषाढ,हेटौंडा । प्रदेश नम्बर ३ सरकारले बृक्षारोपणको अभियान आजबाट औपचारिक रुपमा सुरु गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवास क्षेत्रमा आज फलफूलको विरुवा रापेर बृक्षारोपणको सुरुवात गरिएको हो । सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णयको कार्यक्रम र तत्कालीन नेकपा एमालेका पूर्व महासचिव एवं चर्चित वामपन्थी नेता मदनकुमार भण्डारीको जन्मदिनका अवसरमा आज बृक्षारोपणको सुरुवात गरिएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । हरेक क्षेत्रमा बिरुवा रोप्ने अभियानको आजबाट सुरुवात गरिएको उहाँले बताउनुभयो । यसबर्ष भरीमा प्रदेशका हरेक जिल्लामा पाँच लाख बिरुवा रोप्जने सरकारको योजना छ । बृक्षारोपण कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का सांसद तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सांसद रामचन्द्र राई, नेकपा मकवानपुरका नेता अनन्त पौडेल लगायतकाले बृक्षा रोपण गर्नुभयो ।
पौडेल निवासमा आज आँप, लिचि, मेवा लगायतका फलफूलका चार सय वटा बिरुवा रोपिएको हो । सरकारले आजबाट देशभर वृक्षरोपण अभियान सुरु गरेको छ । सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय गरेर आगामी तीन वर्ष्भित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना बनाएको छ । त्यही अनुसार प्रदेश सरकारले पनि फलफूलका बिरुवा रोप्न सुरु गरेको हो । आज प्रदेशका सबैजसो कार्यालयमा यो अभियान सुरु गरिएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । केन्द्र सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी, सातवटै प्रदेश, स्थानीय तह, विश्वविद्यालय, संस्थान, वन उपभोक्ता समिति र गैरसरकारी संस्थाहरुलाई पनि आ–आफ्नो क्षेत्रमा वृक्षरोपण गर्न निर्देशन दिएको छ । त्यही निर्देशनलाई पालना गर्दै तीनै तहका सरकारले यो कार्यक्रम सुरु गरेको हो ।
सरकारको निर्देशनअनुसार राजनीतिक दलका भ्रातृसंगठनहरु पनि वृक्षरोपण कार्यक्रममा सहभागी भएका छन् । मदन कुमार भण्डारीको जन्मदिनलाई पनि आजै बृक्षारोपण गरेर मनाइदै छ । विक्रम संवत २००९ साल असार १४ गते ताप्लेजुङ्गको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो । कुशल नेता र प्रखर वक्ताको रुपमा परिचित भण्डारीले तत्कालीन समयमा भाषण र व्यक्त गरेका विचारको अझैसम्म चर्चा हुने गरेको छ ।