नेपाल वायु सेवा नियमलाई सरकारले एक रुपैयाँ पनि दिन सक्दैन – प्रधानमन्त्री ओली
१६ असार,हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेकै अवस्थामा नेपाल वायु सेवा नियमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ पनि दिन नसकिने प्रष्ट गरेका छन् । नेपाल वायु सेवा निगमको ६१ औं वार्षिकोत्सव समारोहमा ओलीले व्यवस्थापन नसुधार्दासम्म एक रुपैयाँ पनि नदिने प्रष्ट गरेका हुन् । प्रधानमन्त्री ओलीले वायु सेवा व्यवस्थापनले जहाज किन्ने तर उडाउन नसक्ने र घाटामा छ भनेर सरकारसँग पैसा मागिरहने क्रम कहिलेसम्म भन्दै प्रश्न गरे ।
‘जहाज छन् तर उडाउने पाइलट छैनन् । गन्तव्य छैन । कहाँ उडाउने टुंगो छैन । भद्रगोल व्यवस्थापन छ । यदि नसक्ने हो भने रणनीतिक साझेदार ल्याउन पर्यो । आफैं सक्ने भए छिटो गर्न पर्यो’, ओलीले भने,‘गर्नु पर्ने काम नगर्ने यति र उति अर्ब चाहियो भन्दैमा पैसा दिन सकिँदैन । यसका लागि सुव्यवस्थापनको ग्यारेन्टी चाहिन्छ ।’ सही कार्ययोजना बिना निगमलाई यथास्थितिमा रकम दिन नसकिने प्रष्ट गर्दै उनले निजी क्षेत्रले सञ्चालन गर्दा जे पनि सफल हुने र सरकारी हुँदा जे पनि असफल हुनुको कारण के हो जवाफ दिनुपर्छ भने । प्रधानमन्त्री ओलीले निगमलाई सुधार्न आफु तयार रहेको भन्दै ठोस कार्ययोजना ल्याए थप विमान किन्न सरकारको सहयोग रहने पनि बताए ।