चीनको सिचुवान प्रान्त र प्रदेश ५ बीच भगिनी सम्बन्ध
प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनली बीच समझदारीपत्रमा हस्ताक्षर भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । समझदारीपत्रमा हस्ताक्षर भएपछि मुख्यमन्त्री पोखरेलले यो समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाईमा पुर्याउन बल पुग्ने विश्वास व्यक्त गरेका छन् । त्यसैगरी सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो घनिष्ठ सम्बन्ध रहदै आएको र यो समझदारीले भविष्यको उज्यालो यात्रा कोरेको बताए । समझदारीपछि मुख्यमन्त्री पोखरेल र गभर्नर लीले दुई प्रदेशबीच उच्च स्तरको भ्रमण आदानप्रदान बढाउँदै समृद्धिको यात्रामा एकआपसमा सघाउ पुर्याउदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।मुख्यमन्त्री पोखरेलले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाईमा अघि बढाउन नेपाली जनताको पहिलेदेखिको चाहना पूरा भएको बताए । त्यसैगरी उनले प्रदेश, पालिका र जनताबीचको सम्बन्धले दुई मुलुकबीचको सम्बन्ध बलियो बन्दै जाने प्रधानमन्त्री केपी ओलीको सन्देश पनि सुनाएका थिए ।