हेटौंडामा भर्मि कम्पोष्ट प्रबद्र्धन तथा कौशी खेति विस्तार कार्यक्रम सम्पन्न

भर्मि कम्पोष्ट प्रबद्र्धन तथा कौशी खेति विस्तार कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको ५ वडामा सम्पन्न गरिएको छ । प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, बन तथा वातारण मन्त्रालय अन्तरगतको बन निर्देशनालयले नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ अन्तरगत कार्यक्रम गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, २, ४, ९ र १० मा ७ पटक कार्यक्रम आयोजना गरिएको थियो । हेटौंडाको वडा नम्बर २ र ४ मा २–२ पटक र वडा नम्बर १, ९ र १० मा १–१ पटक आयोजना गरिएको कार्यक्रममा ३ सय ५७ जनाको सहभागिता रहेको थियो । तालिममा हेटौंडा उपमहानगरपालिकाका शाखा अधिकृत ध्रुबबहादुर भुजेल, कृषि बिज्ञ रबिन्द्रप्रसाद पौडेल, हेटौंडा ७ की गड्यौला मल उत्पादक कृषक जानुका राईले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा भर्मि कम्पोष्ट मलको परिचय, महत्व, बनाउने तरिका, प्रयोग गर्ने बिधी तथा कौशी खेतीका लागि उपयुक्त माटोको छनौट र प्रयोग, उपयुक्त तरकारी वा फलफूल, प्रजाति र विरुवाको छनौट, रोगहरु तथा लक्षणहरु, उपचार बिधी, औषधी र प्रयोग बिधिहरु लगायतको बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
तालिममा व्यवहारिक रुपमा फोहरबाट कम्पोष्ट मल बनाउने तरिका, गड्यौलाबाट भर्मि कम्पोष्ट मल बनाउने तरिका, कौशी खेतिका लागि माटोको प्रयोग, बिरुवा रोप्ने तरिका अभ्यास(प्राक्टीकल) समेत गराउनुभएको थियो ।
हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले हेटौंडा १ मा असार १६ गते कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । हेटौंडा २ मा वडा सदस्य रिनु गुरुङ्ग, हेटौंडा ४ मा वडा अध्यक्ष नविन सिग्देल, हेटौंडा ९ मा वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी र हेटौंडा १० मा वडा अध्यक्ष कितापसिंह लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*